शेर्पा स्वायत्त प्रदेश प्राप्तिको लागि आवश्यक आधारहरु सहितकोघोषणा-पत्र............

इतिहासको अध्ययन अनुसार आजभन्दा २२४१ वर्ष पहिले २३६ इशापूर्व काठमाडौं उपत्यकामा शेर्पा, नेवार, किराँत र थामी गरी चार आदिवासीहरु विशेष रुपले बसोबास गरेको उल्लेख गरिएको,

नवौं शताब्दीतिर गुरु पद्म सम्भव गुरु रिम्पोछे खुम्बु क्षेत्रमा आई त्यहाँको अति रमणीय वातावरणबाट मुग्ध भई त्यस क्षेत्रलाई बेयुल घोषणा गरी त्यस क्षेत्रको सुङमालाई निमन्त्रणा गरी चोमोलुङमा देवी मियोलुङ साङमा लगायत चार देवदेवीलाई उक्त क्षेत्रको संरक्षण गर्न लगाई त्यस क्षेत्रको विकास गरेको र सो क्षेत्रलाई तपोभूमि बनाउन निर्देशन दिएको तथ्यहरु धार्मिक ग्रन्थमा उल्लेख छ,

पन्ध्रौं शताब्दीको शुरुमा रोलवालिङ भई खुम्बु प्रवेश गरी बसोबास गर्ने व्यक्ति फाचेन र उसका सन्तानहरु पालदोर्जे समूहले खुम्बु क्षेत्रमा बसाई सराई गरेको र त्यसकै आसपास शिकारी किरागोम्बु दोर्जेको समूहमा ५० जना जति नाङ्पाला पासबाट खुम्बु क्षेत्र प्रवेश भएको र त्यसपछि दुवै समूह मध्ये पोन्लोब लामा साङ्वा दोर्जेलाई धर्म राजा बनाई आफनै राज्य स्थापना गरेका,

अठारौं शताब्दीमा पृथ्वीनारायण शाहले किराँत राज्य जितेर वृहत् नेपाल बनाउने अभियानमा हिमाल वारिको सम्पूर्ण सिमाना आफ्नो साम्राज्यमा गाभी शेर्पा राज्य समेत बृहत् नेपालमा समावेश गरेको, हाम्रो शेर्पा भूमिलाई बृहत नेपालमा औपचारिक तवरले गाभे पनि शेर्पा प्रदेशमा शेर्पाहरुकै बाहुल्य भई आफै शासन संचालन गरी आएको विभिन्न एतिहासिक दस्तावेजबाट प्रष्ट हुन्छ,

नेपालका तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले भारतको बेलायती सरकारसितको युद्धताका आर्थिक संकट परी फौजी बिद्रोह हुँदा सिन्धुपाल्चोक जिल्लाको गोल्फु भञ्ज्याङ छेपारमा ७०० जना शेर्पाहरुलाई तिब्बतसित समाचार सम्प्रेषण गरेको अभियोगमा सामूहिक हत्या गरेको र तिनका परिवारहरुलाई दास बनाई अन्य फौजी अधिकृतहरुलाई तलबको रुपमा विभाजन गरिएको,

उपरोक्त इतिहासका तथ्यहरुबाट के स्पष्ट हुन्छ भने हामी शेर्पाहरु परापूर्वकालदेखि काठमाण्डौ आसपास र काठमाण्डौ पूर्वको यस हिमाली क्षेत्रमा बसोबास गरी आएका आदिवासी – मूलवासीहरु हौं। हाम्रा पूर्खाहरुले २३६ वर्ष पहिले देखि हालको सोलुखुम्बु जिल्लाको नाङ्पाला, संखुवासभाको किमाथाङ्का, रसुवाको केरुङ, ताप्लेजुङको ओलाङचुङगोला र तोप्केगोला, सिन्धुपाल्चोकको तातोपानी खासा, दोलखाको लामाबगर र रोल्वालिङ लगायतका भन्ज्याङ र नाकाहरु हुदै इतिहासका विभिन्न कालखण्डमा पशुपालन, व्यापार, व्यवसायको सिलसिलामा नेपाल प्रवेश गरी यस क्षेत्रलाई आफ्नो स्वतन्त्र गणराज्यको रुपमा विकास गर्दै आएको पाइन्छ । हाम्रा पूर्खाहरुको आगमन पूर्व यस हिमाली क्षेत्र पूर्ण स्वतन्त्र भूमि थियो । त्यहाँ अरु कसैको बसोवास र आगमन भएको थिएन । गोर्खाली शासकहरुले राज्य विस्तारका क्रममा हाम्रो भू-भाग नेपाल राज्यमा गाभ्नु अघिसम्म यस शेर्पा बसोबास क्षेत्रहरु सम्पूर्ण रुपमा स्वतन्त्र, स्वाबलम्बी, स्वाधीन र स्वतन्त्र स्वायत्त गणराज्यको रुपमा संचालन भई आएको थियो । भाषा, धर्म, संस्कृति, साहित्य, रीतिरिवाज, परम्परा र आर्थिक आधार आदि बारे हाम्रो आफ्नै मौलिक विशेषतालाई निरन्तर रुपमा हालसम्म संरक्षण गरी आएका छौं । २० औं शताब्दीको शुरु सम्म शेर्पाहरु खेतीपाती, चौंरी पालन तथा सिमापार व्यापार गरी जीवनयापन गर्थे भने २० औं शताब्दीको सुरुबाट मात्र पर्यटन र पर्वतारोहण क्षेत्रमा ख्याती प्राप्त गर्दै सन् १९३४ तिर आङ तार्के शेर्पा र १९५३ मा तेन्जिङ नोर्गे शेर्पाको टोलीले हिमाल आरोहणमा विश्व कृतिमान हासिल गरेपछि यस क्षेत्रमा छुट्टै प्रतिष्ठा कमाउन सफल भयो। त्यसपछि पनि पर्वतारोहण क्षेत्रमा निरन्तर विश्व किर्तिमान राख्दै पाँच जना शेर्पाहरुले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हाम्रो जातिको नाम लेखाउन सफल भएका छन् । एशियाली विकास बैंकको प्रतिवेदन अनुसार पनि नेपालको पर्यटन उद्योग हिमाल आरोहणको एक प्रतिफल हुन् भनिएको छ । नेपालको पर्यटन पवर्द्धनमा शेर्पा जातिको अतुलनीय योगदान रहेको छ । हाम्रै प्रयासको फलस्वरुप नेपालले विदेशी मुद्रा आर्जन र रोजगारी वृद्धिमा सफलता प्राप्त गरेको छ । यही विशेषताहरुले गर्दा विदेशी विज्ञहरुबाट शेर्पा बारे २ दर्जन भन्दा बढी किताब र सयौं लेखहरु प्रकाशन गरेको पाईन्छन् । यसरी आफ्नै ऐतिहासिक भूमि, भाषा, धर्म, संस्कृति, रितिरिवाजको धनीमात्र नभई सिंगो नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने आर्थिक आधार र जनशक्ति भएकोले शेर्पा स्वायत्त प्रदेशको अनिवार्यता माथि जोड दिदै हामी निम्न घोषणाहरु सार्वजनिक गर्दछौं।

१) अब नेपाल सम्पूर्ण रुपले संघीय लोकतान्त्रिक गणतन्त्र भई नयाँ नेपालको संविधान लेखनको प्रकृयामा गईसकेको सर्न्दर्भमा हाम्रो उपरोक्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भाषिक तथा परम्परागत पहिचान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संरचनामा हामी शेर्पा जातिको लागि आफ्नै जातीय स्वायत्त प्रदेशको दाबी हाम्रो नैर्सर्गीक अधिकार भएको घोषणा गर्दछौं।

२) शेर्पा जातिको मुक्तिको लागि शेर्पा स्वायत्त प्रदेश सुनिश्चित गरिने सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल क. प्रचण्डबाट प्रतिबद्धता व्यक्त भैसकेको र उक्त प्रतिबद्धता माओवादी नेतृत्वको मात्र नभई नेपाल सरकारको प्रतिबद्धता भएकोले कुनै पनि हालतमा उक्त प्रतिबद्धताको ब्यावहारिक पुष्टि हुनु पर्ने अनिवार्यता ठान्दछौं।

३) शेर्पा स्वायत्त प्रदेशलाई अन्य स्वायत्त प्रदेशको उप-स्वायत्त प्रदेश बनाउने कूटनैतिक षड्यन्त्र चलिरहेको र उक्त तर्क उपरोक्त अर्न्तराष्ट्रिय परिभाषा र नेपाल सरकारको प्रतिबद्धता विपरित भएकोले उक्त गलत कदमलाई बिरोध गर्न अन्य सबै आदिवासी जनजातिहरुलाई आग्रह गर्दै सचेततापुर्वक आवाज उठाउने छौं। हामीलाई उक्त गन्तव्य स्थानसम्म पुग्न नदिन गतिरोध पैदा गर्ने तत्वलाई सामाजिक बहिष्कार गर्ने घोषणा गर्दछौं ।

४) हाम्रो भाषा, संस्कृति, धर्म, तथा आर्थिक विकास, सामाजिक न्याय र राजनैतिक अधिकारको संरक्षण र सँवर्द्धनको लागि शेर्पा स्वायत्त प्रदेश अनिवार्य आवश्यकता भएकोले राज्यले उक्त जायज मागलाई बेवास्ता गरेमा हामी शेर्पा जातिले विभिन्न विरोध कार्यक्रमको साथै अन्तमा बौद्ध धर्मको उपदेशलाई गुम्बामा बन्दक राखी बलिदानीपूर्ण संघर्षको यात्रामा समेत प्रवेश गर्दै आफ्नो हक दावीमा अग्रसर हुने समेत घोषणा गर्दछौं ।

५) नेपाल सरकारले घोषणा गरेको धर्म निरपेक्ष राज्य र सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको नीति केवल सिद्धान्तमा मात्र सिमित रहेकोले त्यसलाई व्यवहारमा लागू गराउन जोडदार माग गर्दै लागू नभए संघर्ष गर्ने घोषणा गर्दछौं ।

६) हाम्रो शेर्पा स्वायत्त प्रदेश पूर्वमा ताप्लेजुङ र संखुवासभाको उपल्लो भू-खण्ड, भोजपूर र ओखलढुङ्गाको माथिल्लो भू-भाग, खोटाङ्गको शेर्पा गाउँ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाको माथिल्लो भू-भाग लगायत हाल सोलुखुम्बु जिल्लाले ओगटेको अधिकांश भू-भाग शेर्पा स्वायत्त प्रदेशको भू-भाग रहने घोषणा गर्दछौं । अन्य स्वायत्त प्रदेश भित्र रहेका शेर्पा बस्तीहरुलाई स्वायत्त इलाका र गाउँ घोषणा गराउन निरन्तर आवाज उठाईरहने प्रतिबद्धता ब्यक्त गर्दछौं।

७) अन्तर्राष्ट्रिय श्रम संगठन र संयुक्त राष्ट्रसंघीय मानवअधिकार तथा जनजाति सम्बन्धी अधिकारको अभिसन्धी अनुसार पनि हामी शेर्पा जातिको आत्मनिर्णयको अधिकार सहितको छुट्टै जातिय स्वायत्तता पाउनु पर्दछ अन्यथा हाम्रो नैर्सर्गिक अधिकार खोसिएको र मानव अधिकार हनन् भएको हुने स्पष्ट पार्दै संर्घषको माध्यम अपनाउन बाध्य हुने घोषणा गर्दछौं ।

८) शेर्पाहरु नेपाल राज्यभित्र सोलुखुम्बु जिल्लासहित ७५ जिल्लामा नै छरिएर रहेको हामी शेर्पाहरुको कूल जनसंख्या ३ लाख भन्दा बढी रहेको जानकारी गराउँदै शेर्पा स्वायत्त प्रदेश निर्माणको लागि शेर्पाहरुको जनसंख्या अपुग हुन्छ भन्ने तर्क केवल निर्रथक हल्ला मात्र भएको घोषणा गर्दछौं ।

९) हाम्रो सहिष्णुता र इमान्दारितालाई कमजोर नठान्न समेत आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यवहारिक पूष्टी गर्न वर्तमान सरकार र सबै राजनितिक दलहरुसंग हाम्रो मागलाई आगामी बन्ने संविधानमा लेख्न सचेत गराउँदै सम्पुर्ण शेर्पा समुदायलाई स्वायत्त प्रदेश स्थापनाको लागि एकजुट हुन र आवश्यक परे जुनसुकै स्तरको आन्दोलन र संर्घषको लागि तयार रहन हार्दिक अपील गर्दछौं ।

शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन द्वारा पारित घोषणा पत्र ।

प्रमुख समाचर