परिचय..............

संसारमा मूलतः मंगोलियन्, आर्यन् र निग्रो तीन प्रकारका मानिसहरू छन् । ती मध्ये मंगोलियन समुदाय भित्र पर्ने हामी नेपालका शेर्पाहरू विश्वको सर्वोच्च हिमशिखर चोमोलुङमा - सगरमाथा कञ्चनजंघा लगायत ल्होत्से, नुब्से, आमाडाब्लम, थमशेर्कु, खुम्बीयुलल्हा आदि विशाल र अथाह विश्वभरिका जिज्ञासुहरूका लागि अविरल प्रेरणा प्रदान गरिरहने सेता हिमचुलीहरूको काखमा स-साना गाउँवस्तीका साथै गुम्बा र चैत्यहरू स्थापना गरी युगौंयुगदेखि बसिरहेका छौं। हामी शेर्पाहरूको रहनसहन, चालचलन, बोलीचाली, भेषभूषा, खानपान र धर्मसंस्कृति आदि आफ्नै मौलिकता र विशेषताका छन् । यस क्षेत्रमा बसोबास गर्ने हामी शेर्पाहरूको भौगोलिक विकटताले युगौंदेखि भिन्न बसोबास रहेतापनि आर्थिक र सांस्कृतिक पृष्ठभूमि प्रायः एउटै छन्।

भाषा, लिपी र धर्म संस्कृति कुनै पनि जाति र समाजको सभ्यताका निधि हुन् । कुनै पनि जातिको भाषा, लिपी र धर्म संस्कृति लोप हुनु भनेको त्यस जातिको जातिय अस्तित्व समाप्त हुनु हो । शेर्पा जातिको आफनै धर्म संस्कृति छ । भोट वर्मेली भाषा, सम्बोटा लिपी, महायान बौद्ध धर्म कँग्युर -त्रिपिटक मुल ग्र्रन्थ र जसको व्याख्या गरिएको शास्त्र तेन्ग्युर हो भने लोसार पर्व, श्यामो, बक्खु दोचा, आङ्गी, माटील, दोङ्टील आदि पोशाक र श्याप्टुक शेर्पा जातिको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पहिचान हुन् ।

यी हाम्रो भेषभूषाहरू, हाम्रो सांस्कृतिक चाड पर्वहरू हामीलाई देश विदेश र विश्व रंगमञ्चमा परिचित गराउने चिनारी हुन्। यति मात्र नभई हाम्रो राष्ट्रिय अमूल्य सम्पति एवं नीधि हो । एकात्मक सामन्ती राजतन्त्रको एक जाति, एकभेष, एक धर्म, एक देश भन्ने हिन्दुवादी नीतिले ओझेलमा पारेको हाम्रो शेर्पा जातिको जातीय अस्तित्व र मौलिक हक कायम गरी वहुजाति, वहुधर्म र बहुसंस्कृति रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको परिभाषालाई सार्थक बनाउनु छ। जहाँ हाम्रो लिपि, धर्म, संस्कृति र परम्पराहरु स्वतन्त्ररूपले फुल्न र फल्नका साथै सांस्कृतिक धरोहर गुम्बा, चैत्य र धार्मिक ग्रन्थ आदि सुरक्षित रहन सकोस् ।

शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल नेपालमा आदिकालदेखि बसोबास गर्दै आएको शेर्पा जातिको नेपाल कै अहिलेसम्मको एक मात्र राजनैतिक संस्था हो उक्त कुराले विगतको शेर्पा जातिको राजनीतिक अवस्थाको दुःखद् स्थितिलाई स्पष्ट गर्दछ । राज्यबाट राजनैतिक अवसरबाट बञ्चित गरिनु नै शेर्पा जातिको राजनीतिक नेतृत्व विकास गर्नु नसक्नु मुख्य कारण देखिन्छ । नेपालमा ११ सय वर्षभन्दा पुरानो गुम्बाहरू जहाँ बौद्धमार्गी शेर्पा जातिबाहेक आदिकालदेखि आजसम्म पनि अरु कुनै पनि जातिको बसोबास पाइँदैन । त्यसले पनि नवौं शताब्दितिरैको शेर्पा जातिको नेपालमा बसोबास रहेको स्पष्ट ऐतिहासिक अस्तित्वको परिचय दिएको छ भने इतिहासकार बाबुराम आचार्यको लेखोट अनुसार् इशापूर्व २३६ मा नै नेपालमा शेर्पा जातिको अस्तित्व थियो भनी पुष्टि गरिएको छ । सिंगो नेपालीलाई साम, दाम, दण्ड, भेदको नीतिद्वारा निरन्तर आफ्नो अधिनस्थ बनाउने कामको एकतन्त्रीय हिन्दु अधिनायकवादी हुकुमी शासनको मारमा शेर्पा जाति नपर्ने कुरै भएन। गण व्यवस्थामा पनि आफ्नै समुदायको श्रेणी विभाजन र माथिल्लो श्रेणीकाले तल्लो श्रेणीकालाई आफ्नो अधिनमा राखने र कज्याउने त छँदै थियो नै नेपाल एकीकरणको नाममा पृथ्वीनारयाण शाहले शुरु गरेको एकात्मक प्रणालीको हिन्दुवादी सामन्ती राजतन्त्रले नेपालको आदिवासीहरूको इतिहास नामेट बनाउदै लगियो । आज अधिकार खोसिएको छ, सामाजिक अस्तित्व दबाईएको छ । इतिहास मनगडन्ते, काल्पनिक र राजनैतिक प्रतिशोधको आधारमा लेखिएको छ । यथार्थमा सन् १९१४ सम्म शेर्पा जाति कुनै पनि राजनैतिक शासन सत्ताको अधिनस्थ नभएको र आफ्नै सामाजिक सहमतिको आधारमा स्वतन्त्र बसेको पाइन्छ।

प्रमुख समाचर