(काठमाडौं) वर्तमान सरकारविरुद्ध विभिन्न चरणको आन्दोलन गर्दै आएको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले राजनीतिक गतिरोध अन्त्यका लागि एक हप्ताको अल्टिमेटम दिएको छ। पार्टीस्थायी कमिटीको शुक्रबार बसेको बैठकले यही कात्तिक १५ गतेसम्म राजनीतिक दलहरुबीच सहमति नभएमा अर्को चरणको आन्दोलनको घोषणा गर्ने निर्णयगरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकले नागरिक सर्वोच्चताका लागि सञ्चालित आन्दोलनको पहिलो चरणका कार्यक्रम प्रभावकारी भएको निष्कर्षनिकालेको छ। नेताहरुले तिहारलगत्तै अर्को चरणको आन्दोलन घोषणा गर्ने र्सार्वजनिक रूपमा गर्दै आएको भए पनि राजनीतिक दलहरुबीच तीव्रस्तरमा वार्ता भइरहेका कारण पार्टी एक हप्ताको समय दिएको बताइएको छ।
एक हप्ताभित्र कुनै राजनीतिक निकास ननिस्के आन्दोलनको आँधीबेहरी सिर्जना गरिने र त्यो आन्दोलनलाई कुनै पनि ‘प्रभु’ ले रोक्न नसक्ने चेतावनी अध्यक्ष प्रचण्डले दिनुभएको छ। बैठकपछि अध्यक्ष प्रचण्डले दलहरुबीच भएको कुराकानी सकारात्मक रूपमा अगाडि बढेकाले सहमति हुने विश्वासमै एक हप्ताको समय पर्खिने निर्णयपार्टी गरेको जानकारी गराउनुभएको छ।
पार्टीप्रवक्ता दीनानाथ शर्माले पार्टीअहिले पनि आन्दोलनमै रहेको तर अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न मात्र बाँकी रहेको स्पष्ट पार्नुभएको छ। उहाँले आन्दोलनका कार्यक्रम तय गर्न पुनः बैठक बस्ने जानकारी गराउँदै बन्द, चक्काजाम, विरोध आदि आन्दोलनका कार्यक्रम हुन सक्ने तर तय हुन भने बाँकी रहेको स्पष्ट पार्नुभएको छ।
गत वैशाख २० गते माओवादी नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निर्णयगरेको थियो। राष्ट्रपति डा. रामवरण यादवले सोही दिन राति ११ बजे सेनाको मुख्यालयमा पत्र पर्ठाई सरकारको निर्णयकार्यान्वयन नगर्न भनेपछि त्यसको भोलिपल्ट माओवादीले सरकार छोडी आन्दोलनमा जाने निर्णयगरेको थियो। त्यसपछि माओवादीले प्रधानमन्त्रीको निर्वाचन र बजेट पेस गर्न दिनेबाहेक अन्य सबै दिनका संसद् अवरुद्ध गर्दै आएको छ।