(काठमाडौं)अमेरिकाका लागि नवनियुक्त राजदूत डा. शंकर शर्माले आफ्नो प्राथमिकता देशका मूल मुद्दाभन्दा पनि प्रमुख विपक्षी माओवादीलाई आतंककारी सूचीबाट हटाउन पहल गर्ने भन्दै सबैलाई आर्श्चयचकित पार्नुभएको छ।
आइतबार राजधानीमा रिपोर्र्टस क्लबद्वारा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो- ‘माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउन गर्नुपर्ने सबै पहल गर्छुके गर्दा सूचीबाट हटाउन सकिन्छ भन्नेबारे जानेबित्तिकै प्रयास थाल्नेछु।’
अमेरिकी सरकारले आतंककारी सूचीबाट हटाउनेबारे यसअघि पनि छलफल अगाडि बढाएकाले आफूले त्यसलाई गति दिने बताउनुभयो। अमेरिकी सरकारले नेपालको तत्कालीन विद्रोरोही माओवादीलाई २०६० सालमा विश्वका आतंककारीहरूको सूचीमा समावेश गरेको थियो।
सम्पूर्ण मुलुकको प्रतिनिधित्व गरेर जानुपर्ने राजदूतले माओवादीको चाकडी गरेको भन्दै कूटनीतिक क्षेत्रले पनि आर्श्चय व्यक्त गरेको छ। शर्मा कांग्रेसको कोटामा राजदूत नियुक्त हुनुभएको हो। माओवादीलाई आतंककारी सूचीबाट हटाउन उसको व्यवहार सच्चिनुपर्ने अमेरिकाले बताउँदै आएको छ।