काठमाडौं, कात्तिक १० सत्तारूढ दलहरूले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी) लाई बहुमत ल्याएर सरकार ढाल्न चुनौती दिइरहेका बेला माओवादीले भने कडा आन्दोलन कार्यक्रम ल्याउने तयारी गरेको छ।
सोमबार माओवादी अध्यक्ष प्रचण्डले राज्यसमितिका इन्चार्ज र मधेसका जनवर्गीय संगठनका प्रतिनिधिहरूलाई छुट्टाछुट्टै प्रशिक्षण दिँदै अब माओवादीले कडा आन्दोलन गर्ने र सो आन्दोलनले कसैलाई पनि बाँकी नराख्ने चेतावनी दिनुभएको माओवादीस्रोतले बताएको छ।
यसैबीच आन्दोलनसम्बन्धी छलफल गर्नकै लागि माओवादी स्थायी कमिटीको बैठक आज मंगलबार बिहान बस्ने भएको छ। त्यसपछि दिउँसो उपाध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा रहेको केन्द्रीय जनआन्दोलन समितिको बैठक बस्ने भएको छ।