नेपाल-भारत वाणिज्य सन्धि आज, अब हरेक ७ वर्षा नवीकरण

काठमाडौं, कात्तिक १० परिमार्जित नेपाल-भारत वाणिज्य सन्धिमा दुवै देशका वाणिज्यमन्त्रीले आज मंगलबार हस्ताक्षर गर्ने भएका छन्। राजधानीमा आज आयोजना हुने कार्यक्रममा नेपालका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र भारतका वाणिज्यमन्त्री आनन्द शर्माले सन्धिमा हस्ताक्षर गर्ने भएका हुन्।

भारतीय वाणिज्यमन्त्री शर्मा दक्षिण एसियाक्षेत्रका वाणिज्यमन्त्रीको बैठक दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) मा भाग लिन आज काठमाडौं आइपुग्ने र यसै समयमा वाणिज्य सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको हो। दक्षिण एसियाक्षेत्रका वाणिज्यमन्त्रीको बैठक भोलिदेखि राजधानीमा शुरू हुँदै छ।

दुवै देशका वाणिज्यमन्त्रीले हस्ताक्षर गरेपछि परिमार्जित नेपाल-भारत वाणिज्य सन्धि औपचारिक रूपमा लागू हुनेछ र अब सन्धि हरेक ७/७ वर्षा समयानुकूल पुनरवलोकन गरी स्वतः नवीकरण हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल समाचारपत्रलाई जानकारी दियो। यसअघि सो सन्धि हरेक ५ वर्षा नवीकरण हुने गरेको थियो।

सन्धिमा तेस्रो मुलुकका सामान एकअर्को देशमा विनाअवरोध निर्यात गर्न पाउने, भारतीय केन्द्रीय र राज्य सरकारले नेपाली सामानको प्रवेशमा अन्तः शुल्कबाहेक भन्सार तथा गैरभन्सार नलिने, हवाई मार्गबाट आयात-निर्यात गर्न पाउने उल्लेख छ, जसमा दिल्ली, मुम्बई, कोलकँता र चेर्न्नई विमानस्थल व्यापारका लागि लागू भएपछि खुला हुनेछन्।

त्यस्तै नेपालले थप पाँच नाकाबाट भारतसँग व्यापार गर्न पाउने प्रावधान सन्धिमा छ। थप पाँच नाकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लैकाही, सिक्टा, महेशपुर र गुलरिया रहेका छन् भने हाल भारतसँग नेपालले विभिन्न २२ वटा नाकाबाट व्यापार गरिरहेको छ। यसका साथै अब नेपालबाट १० वर्षपुरानो मेसिनरी उपकरण मर्मतका लागि भारत लैजान पाइने भएको छ।

यसअघि ३ वर्षपुरानो मेसिनरी उपकरण मात्र मर्मतका लागि लैजान पाइने प्रावधान थियो। यस्तै भारतीय रुपियाँमा गरिने व्यापारमा डलरसरह सुविधा पाइने, खाद्य सहमति, गुणस्तर प्रमाणीकरण, कानुन पुनरवलोकन, क्वारेन्टाइन परीक्षण सहज बनाउन मुम्बई बन्दरगाह खुला गर्नेलगायतका विषय पनि सन्धिमा उल्लेख छन्।

सन्धिमा तेस्रो मुलुकका वस्तु नेपाल हुँदै भारत जाने गरेकोमा एक्रेलिक यार्न, वनस्पति घ्यु, जिंक अक्साइडलगायतका वस्तुमा भारतले बन्देज नगर्ने पनि उल्लेख गरिएको छ। यो सन्धि कार्यान्वयनमा आएपछि नेपालको भारतसँगको व्यापारघाटा पनि कम हुने सम्बन्धित विज्ञहरूको धारणा छ। हाल नेपालको भारतसँग १ सय ९ अर्ब रुपियाँको हाराहारीमा व्यापारघाटा भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री माधवकुमार नेपालले गत भदौको पहिलो साता गर्नुभएको भारत भ्रमणका क्रममा परिमार्जित नेपाल-भारत वाणिज्य सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको भए पनि भारतीय वाणिज्यमन्त्री शर्मा विदेश भ्रमणमा व्यस्त भएकाले सन्धिमा हस्ताक्षर हुन सकेको थिएन। प्रधानमन्त्री नेपालको भारत भ्रमणमा दुवै देशका वाणिज्यसचिवले हस्ताक्षर गर्नुभएको थियो।

सो अवसरमा सन्धिमा नेपालका तर्फाट वाणिज्य तथा आपूर्तिसचिव पुरुषोत्तम ओझा र भारतका तर्फाट भारतीय वाणिज्यसचिवले हस्ताक्षर गर्नुभएको थियो। गएको फागुनमा काठमाडौंमा सम्पन्न नेपाल-भारत अन्तर सरकारी समितिको दुईदिने व्यापारवार्ताले दुवै देशबीचको द्विपक्षीय वाणिज्य सन्धिमा संशोधन तथा परिमार्जन गर्नेबारे विभिन्न सहमति गरेको थियो। सो वार्तामा वाणिज्य सम्झौताका केही प्रावधानमा आवश्यक संशोधन तथा परिमार्जन गर्नेबारे सहसचिवस्तरीय सहमति भएको थियो।

सोही सहसचिवस्तरीय सहमतिमा प्रधानमन्त्री नेपालको भारत भ्रमणका क्रममा दुवै देशका वाणिज्यसचिवले हस्ताक्षर गरी सहमति पारित भएको थियो। दुवै देशका वाणिज्यसचिवले हस्ताक्षर गरी सहमति पारित भएको सो परिमार्जित नेपाल-भारत वाणिज्य सन्धिमा दुवै देशका वाणिज्यमन्त्रीले आज हस्ताक्षर गर्ने भएका हुन्।

प्रमुख समाचर