काठमाडौं, कात्तिक १० एकीककृत नेकपा माओवादीले मुलुक राष्ट्रपति शासनतिर गइरहेका कारण आफनो प्रमुख माग नागरिक सर्वोच्चताको लागि राष्ट्रपतिको कदम सच्याउनु नै रहेको बताएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालवीच मंगलवार भएको वैठकमा माओवादी नेताहरूले आफनो पार्टीको नेतृत्वमा सरकार गठनभन्दा पनि राष्ट्रपतिको कदम सच्याउनु नै आफनो प्राथमिकता रहेको बताएका हुन्।
'मुलुक विस्तारै राष्ट्रपति शासनतिर गइरहेको छ' एमाले वार्ता टोलीका सदस्य युवराज ज्ञवालीले माओवादी अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै भने, 'यो स्थितीमा राष्ट्रपतिले त्रुटी गरे भन्ने कुरा कुनै न कुनै हिसावले सम्बोधन हुनैपर्छ। नत्र, सहमति हुँदैन।'
माओवादी अध्यक्ष दाहालको भनाइपछि एमाले नेता खनालले आफुहरू राष्ट्रपतिलाई लाञ्छना लगाउने पक्षमा नरहेको बताएका थिए। 'राष्ट्रपतिले गल्ती गरे भन्ने कुरा काग्रेस लगायतका सत्ता गठबन्धन दलहरू स्वीकार गर्न तयार छैनन्', अध्यक्ष खनालको जवाफ उद्धृत गर्दै एमाले सचिव ज्ञवालीले भने, 'त्यसैले पनि राष्ट्रपतिले गल्ती गरे भनेर हामी भन्न सक्दैनौं।'
अध्यक्ष खनालले चाहिं साझा संकल्प प्रस्ताव तयार गरी सहमतिमा जानुपर्ने कुरामा जोड दिएका थिए। 'साझा संकल्प प्रस्तावलाई नै मिलनविन्दु बनाएर जाऔ', खनालको भनाई थियो, 'बरू त्यसका लागि भाषा मिलाउने कुरामा हामी लचिलो छौं।'
खनालको यो प्रस्तावपछि काग्रेस सभापति गिरीजा प्रसाद कोइरालासहित तीनै दलको शीर्ष नेताहरूको वैठक वसी सहमति खोज्ने सहमति भयो। बुधवार वस्ने शीर्ष नेताहरूको वैठक मिलाउने जिम्मा एमाले अध्यक्ष खनालले लिएका छन्। यद्यपी काग्रेस सभापति कोइरालाको स्वास्थ्य स्थिती खराव रहेकाले मंगलवार राति अवेरसम्म पनि वैठकको समय निर्धारण हुन सकेको छैन। 'संभवत भोली (वुधवार) चाहिं शीर्ष नेताहरू बसेर सहमतिको प्रयास गर्नुहुने छ', एमाले नेता ज्ञवालीले भने।
दुई नेतावीचको वैठकमा माओवादी अध्यक्ष दाहालले आफनै नेतृत्वको संयुक्त सरकार गठन आफनो पार्टीको प्रमुख माग नरहेको पनि प्रष्टयाएका थिए। तर, राष्ट्रपतिको कदम सच्चिएपछि मुलुकमा राष्ट्रिय सरकारको वातावरण बन्ने धारणा दाहालको थियो। 'अहिले नै हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने प्रमुख माग होइन', वैठकपछि माओवादीको धारणा उद्धृत गर्दै एमाले अध्यक्ष खनालले भने,'तर, राष्ट्रपतिको कदम सच्चिएपछि राष्ट्रिय सहमतिको संयुक्त सरकार बनाउनुपर्छ भन्ने हो।' यद्यपी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र समयमै संविधान लेखनको लागि प्रमुख दलहरूवीच सहमति गरेर जानुपर्नेमा चाहिं दुवै नेताहरूको सहमति थियो।