श्रीलङ्काली राष्ट्रपति आज नेपाल आउँदै

काठमाडौँ,  कात्तिक १२ - प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदैछन्। राष्ट्रपति राजपाक्षका साथ उहाँकी धर्मपत्नी शिरान्थी राजपाक्षलगायत उच्चस्तरीय पदाधिकारीहरू रहनेछन्। स्वदेशमा तमिल विद्रोहलाई सैनिक दमन गरिसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

श्रीलङ्काली राष्ट्रपतिलाई उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला र सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मिनेन्द्र रिजालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार आज अपराह्न राष्ट्रपति राजापाक्षसँग उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कोइरालाले शिष्टाचार भेट गर्नेछन्।

कार्यक्रमअनुसार कात्तिक १३ गते राष्ट्रपति डा.रामवरण यादवसँग श्रीलङ्काका राष्ट्रपति राजापाक्षले भेट गर्छन्।

यसैगरी राष्ट्रपति राजापाक्षसँग प्रधानमन्त्री माधवकुमार नेपालले भेट गर्ने कार्यक्रम छ।

सोही दिन साँझ राष्ट्रपति राजापाक्ष तथा श्रीमती राजापाक्षको सम्मानमा प्रधानमन्त्री नेपाल तथा श्रीमती नेपालले रात्रिभोजको आयोजना गर्नेछन्।

नेपाल बसाइका अवसरमा श्रीलङ्काली राष्ट्रपतिले लुम्बिनीको तीर्थयात्रा गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति राजापाक्ष नेपालको भ्रमण सम्पन्न गरी कात्तिक १४ गते कोलम्बो प्रस्थान गर्नेछन्।

प्रमुख समाचर