काठमाडौं, कात्तिक १२ - सुदूरपश्चिमका बाढीपीडितहरुलाई सहयोग गर्न राजधानीमा आयोजित सांस्कृतिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी कान्छी छोरी स्मीता प्रधानले गीत गाएकी छिन्।
सुदूरपश्चिमका माओवादी सभासदहरु उपस्थिति रहेको सांस्कृतिक कार्यक्रममा रामकृष्ण ढकाल र अन्जना गुरुङ लगायतले गीत गाएका थिए।
कार्यक्रममा प्रमुख प्रतिपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताका समस्यालाई बेवास्ता गरी सरकार कुर्सी जोगाउनतिर मात्र लागेको आरोप लगाए। कृत्रिम ढंगले मात्र सरकार टिकेको तर्क गर्दै उनले विदेशीको इशारामा सरकार अडेको दाबी गरे।
बुधबार राजधानीमा आयोजित सुदूर पश्चिम बाढीपीडित सहयोग अभियान, सांस्कृतिक कार्यक्रममा उनले सुदूर पश्चिका बाढीपीडितलाई राहतको व्यवस्था नगरेको आरोप लगाए।
'सुदूर पश्चिममा धनजनको यति धेरै क्षतिप्रति सरकारले ध्यान दिएको छैन,' उनले भने, 'कृत्रिम ढंगले सत्ता टिकाउने प्रयासमा मात्र सरकार केन्द्रीत छ।' उनले सरकार नेपाली जनताको लागि भन्दा पनि विदेशीलाई खुसी पार्न तल्लीन रहेको दाबी गर्दै भने, 'रिमोट कन्ट्रोल, आकाशवाणीबाट देशलाई कन्ट्रोल गरिएको छ।'
सहयोग अभियानका संयोजक लेखराज भट्टले बाढीपीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए।