आन्दोलन शान्तिका लागि : बादल

काठमाडौं, कात्तिक १२ - एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापा \'बादल\'ले माओवादीले जारी गरेको आन्दोलन नेपालमा शान्ति स्थापना गर्नका लागि भएको बताउनुभएको छ ।

एकीकृत माओवादी निर्वाचन क्षेत्र नं. ५ द्वारा नयाँ वर्ष नेपाल संवत् ११३० को अवसरमा बुधबार राजधानीमा आयोजित चियापान तथा राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै नेता बादलले उक्त कुरा बताउनुभएको हो ।

वर्षौंदेखि नेपाली जनताले नेपालमा शान्ति स्थापना हेर्न चाहेकाले माओवादी शान्ति स्थापना गर्ने बाटोमा लागेको बताउँदै महासचिव बादलले त्यो गन्तव्य अझै पूरा नभएको बताउनुभयो । \'तपाईं हाम्रो उद्देश्य नेपालमा शान्ति स्थापना भएको हेर्ने छ तर त्यसको सन्निकट पुगे पनि गन्तव्यमा भने अझै पुगिएको छैन\' महासचिव बादलले भन्नुभयो ।

नेपालमा शान्ति मात्र भन्दा पनि जनता अधिकार सम्पन्न हुने शान्ति चाहिएको बताउँदै उहाँले भन्नुभयो, \'शान्तिका नाममा विकास निर्माण र जनतालाई अधिकार सम्पन्न बनाइादैन भने त्यो शान्ति हामीलाई अस्वीकार्य हुन्छ ।\' साथै जनतालाई अधिकार सम्पन्न बनाउने प्रणाली भएको संविधान बनाउनुपर्ने पनि उहाँको तर्क थियो ।

श्रमजीवी जनताले स्वायत्तता चाहेको बताउँदै कतिपय शक्तिहरूले जनताको त्यो आकांक्षा पूरा हुन नदिन विभिन्न बहानामा षड्यन्त्रहरू कोरिरहेको महासचिव बादलले स्पष्ट पार्नुभयो । \'कतिपय शक्तिहरू विभिन्न बहानामा जनताका चाहनाविपरीत नेपालमा पुरानै व्यवस्था बिउँाताउन चाहन्छन्\' उहाँको कथन थियो ।

नेपालमा नेपाली जनताको आवाजभन्दा विदेशीको आवाजलाई निणर्यक मान्ने शक्तिहरू विद्यमान भएको बताउँदै ती शक्तिहरूलाई परास्त नगर्दासम्म नेपाली जनताले चाहेको नपुग्ने उहाँको भनाइ थियो । \'जबसम्म विदेशसँग भएका असमान सन्धिहरू खारेज हुँदैनन्, तबसम्म नेपाली जनता मालिक हुन पाउँदैनन्\' उहाँले भन्नुभयो ।

राष्ट्रभक्त र देशभक्त नहुँदासम्म कसैको जीवन र मृत्यु सार्थक नहुने भन्दै महासचिव बादलले देशभक्तिपूर्ण आन्दोलन सबै मिलेर माथि उठाउनुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो ।

एकीकृत माओवादीका केन्द्रीय सदस्य एवम् सभासद् नारायण दाहालले प्रतिगामी र यथास्थितीवादी तत्त्वहरू जनताको आवाज दबाउने दुस्प्रयास गरिरहेको बताउँदै माओवादीले जारी गरेको आन्दोलन दबाउने दुस्साहस गरेको बताउनुभयो । \'माओवादी आन्दोलन दबाउनु भनेको नेपाली जनताको आवाज दबाउनु हो\' उहाँको भनाइ थियो ।

सो कार्यक्रममा एकीकृत माओवादी पोलिटव्युरो सदस्य शक्ति बस्नेत, काठमाडौं जिल्ला सेक्रेटरी शैलेन्द्र, वाईसीएल काठमाडौं जिल्ला अध्यक्ष ज्वालालगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा शिवपुरी जनसाँस्कृतिक टोलीले रमाइला गीत एवम् नृत्युसमेत प्रस्तुत गरेको थियो ।

त्यसैगरी नेपाल सम्वत्को अवसरमा यही कात्तिक १३ गते एकीकृत नेकपा -माओवादी) ललितपुर निर्वाचन क्षेत्र नं. ३ को आयोजनामा नाष्टको प्राङ्गण खुमलटारमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको समुपस्थितिमा चियापान कार्यक्रम गर्ने माओवादी ललितपुरले जनाएको छ ।

प्रमुख समाचर