काठमाडौं, कात्तिक १२
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले नेपाललाई रिमोटबाट कन्ट्रोल गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
सुदूरपश्चिमका बाढीपहिरो पीडितका लागि राहात सङ्कलन गर्न बुधबार राजधानीमा आयोजित साँस्कृतिक साँझको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । \'कुनै आकाशवाणी र रिमोटबाट देशलाई कन्ट्रोल गर्ने प्रयास भइरहेको छ\', मन्तव्यमा उहाँले भन्नुभयो ।
कठपुतली सरकार बाढीपहिरोपीडितहरूलाई उचित राहत उपलब्ध गर्नुभन्दा सरकार कसरी टिकाउने भन्ने प्रयासमा रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । \'बाढीपहिरोबाट सुदूरपश्चिममा धनजनको क्षति भएको छ । तर, राज्य सरकारले जुन गम्भीरताका साथ ध्यान दिनुपर्ने हो दिएन\', उहाँले भन्नुभयो, \'असंवैधानिक ढङ्गले बनेको यो सरकार कसरी सरकार बचाउने भन्ने प्रयासमै छ ।\'
अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका बाढीपहिरोपीडितको सहयोगका लागि माओवादीको सम्पूर्ण तह लागिरहेको जानकारी गराउनुहुँदै सहयोगका लागि आम जनतालाई आहृवानसमेत गर्नुभयो । \'यो अभियानमा माओवादीको निरन्तर सहयोग रहने छ\', उहाँको प्रतिबद्धता थियो । एकलाई समस्या पर्दा अर्कोले सहयोग गर्ने नेपालीको परम्परा भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
गतवर्षको बाढीपहिरोपीडितका लागि आफ्नो नेतृत्वको तत्कालीन सरकारले राहत कार्यक्रम अगाडि बढाउनै लाग्दा सरकार परिवर्तन हुनाले राहत प्रदान गर्न नसकिएको उहाँले जानकारी गराउनुभयो ।
विश्वव्यापी रूपमा आएको जलवायु परिवर्तनले नेपालको हिमशृङ्खलामा बढ्दो असर परेको बताउनुहुँदै माओवादी अध्यक्ष प्रचण्डले हिमाली क्षेत्रको असरले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । \'नेपालबाट बग्ने हिम नदीले नेपालमात्र होइन, दक्षिण एसिया र सिङ्गो विश्वलाई नै प्रभाव पार्दै गएको छ\', उहाँले जलवायु परिवर्तनप्रति सचेत हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।
राज्यले अहिलेसम्म सुदूरपश्चिमलाई दोस्रो दर्जाका रूपमा हेर्ने गरेको प्रचण्डको भनाइ थियो । अब क्षेत्र, जाति, भाषा र लिङ्ग विशेषले कोही पनि राज्यद्वारा भेद्भाव हुनुनपर्ने बताउनुहुँदै उहाँले सुनिश्चित भने भइनसकेको बताउनुभयो ।
उद्घाटनमा कार्यक्रम संयोजक लेखराज भट्टले कठपुतली सरकारले कुनै पनि चासो नदेखाएकाले बाढीपहिलोपीडितको सहयोगका लागि आफूहरूले नै राहत सङ्कलन अभियान अगाडि बढाएको बताउनुभयो । \'हामी यो कठपुतली सरकारबाट आशा पनि गरेका छैनौं\', सरकार कुर्सी बचाउनमै व्यस्त रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, \'हामी सबै जनता आफैं मिलौं र एकले अर्कालाई सहयोग गरौं ।\'