साफ्टाको मन्त्रीस्तरीय बैठक सम्पन्न, भन्सार शून्य गर्ने सहमति

काठमाडौं, कात्तिक १२

सार्क स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को चौथो मन्त्रीस्तरीय बैठक अन्तरक्षेत्रीय व्यापार विस्तार सहजीकरण गर्ने विभिन्न सहमतिका साथ बुधबार राजधानीमा सम्पन्न भएको छ।

बैठकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका प्रतिनिधि सहभागी छन्। सो बैठकमा नेपालका तर्फाट वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले भाग लिनुभएको थियो भने भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका तर्फाट पनि वाणिज्य मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो। पाकिस्तानबाट वाणिज्य मन्त्रालयका सहसचिवले बैठकमा भाग लिनुभएको थियो।

अन्तरक्षेत्रीय व्यापार सन्तुलन गर्न सार्क सदस्य राष्ट्रहरूले निर्यात गर्ने विभिन्न संवेदनशील वस्तुहरूको सूचीलाई २० प्रतिशतले घटाउने सहमति भएको छ।

त्यस्तै व्यापार उदारीकरणका लागि संवेदनशील वस्तुहरूको सूचीबाहेकका वस्तुहरूको भन्सार महसुल दरबन्दीको ३० प्रतिशत भन्सार कटौती गरी शून्यमा ल्याउने सहमति भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताउनुभयो।

यससम्बन्धी आफ्ना आन्तरिक कार्यविधिहरू सार्क मुलुकले आउने डिसेम्बरभित्र पूरा गरी सार्क सचिवालयमा जानकारी दिने निर्णयभएको छ। बैठकले सार्क क्षेत्रमा सेवा व्यापारसम्बन्धी सम्झौतामा आगामी अप्रिल सन् २०१० मा भुटानमा हुने १६औं सार्क शिखर सम्मेलनमा हस्ताक्षर हुने गरी तयारी गर्न सार्क सदस्य राष्ट्रहरूको विज्ञसमूहलाई निर्देशन दिएको छ।

त्यस्तै सेवाक्षेत्र खुला गर्नेबारे पनि थप छलफल गर्ने बैठकमा सहमति भयो। कुनकुन देशमा कुन सेवाक्षेत्र खुला गर्ने भन्नेबारे पनि सबै मुलुक सकारात्मक देखिएको मन्त्री महतोले जानकारी दिनुभयो।

सो मन्त्रीस्तरीय बैठकले अन्तरक्षेत्रीय व्यापार विस्तार तथा सेवा क्षेत्र उदारीकरणका लागि पारित गरेको सम्पूर्ण प्रस्ताव सार्क सदस्य राष्ट्रहरूको मन्त्रिपरिषद्ले पारित गरेर सार्क शिखर सम्मेलनमा पेस गर्नुपर्ने व्यवस्था छ।

१६आंै सार्क शिखर सम्मेलनमा बुधबार सम्पन्न साफ्टा मन्त्रीस्तरीय बैठकले पारित गरेको अन्तरक्षेत्रीय सहमतिमा हस्ताक्षर हुने जनाइएको छ। सो हस्ताक्षरपछि मात्र पारित अन्तरक्षेत्रीय सहमति लागू हुनेछ।

बुधबार सम्पन्न साफ्टा मन्त्रीस्तरीय बैठकको एजेन्डा तयार गर्न सार्क सदस्य राष्ट्रहरूको विज्ञसमूह (सहसचिवस्तरीय) को दुईदिने बैठक राजधानीमा सम्पन्न भएको थियो। विज्ञसमूहले तयार पारेको प्रतिवेदनमा बुधबार मन्त्रीस्तरमा थप छलफल भएको थियो। साफ्टाको पाँचौं मन्त्रीस्तरीय बैठक सन् २०१० को सेप्टेम्बरमा माल्दिभ्समा हुनेछ।

साफ्टा लागू भएको चार वर्षबितिसक्दा पनि अन्तरक्षेत्रीय व्यापार उल्लेख्य रूपमा फस्टाउन सकेको छैन। साफ्टा लागू भएको तीन महिनाभित्र अन्तरक्षेत्रीय व्यापारिक कारोबारमा गैरभन्सार अवरोध हटाउनुपर्ने व्यवस्था गरिए पनि हालसम्म त्यो लागू हुन सकेको छैन। बैठकपछि सार्क मुलुकहरूले गैरभन्सार अवरोधलगायतका समस्या भोग्नु नपर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

प्रमुख समाचर