मध्यपुर, ठिमी, कात्तिक १३
अवैधरूपमा सञ्चालित बालुवा खानीमा काम गर्ने ५ जना मजदुरको बुधबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएपछि उनीहरूका आम्दानीमा आश्रति परिवार र सहयोगीहरू उचित क्षतिपूर्तिको माग राखेर बिहीबारदेखि सडमा उत्रिएका छन्।
भक्तपुर दुवाकोट-५ खड्काडिलमुनिको बालुवा खानीमा बालुवा झिंकी गाडीमा लोड गर्न बुधबार सबेरै गएका मजदुरमध्ये, दावा शेर्पा, रोहितकुमार घिमिरे, कृष्णप्रसाद फुयाल, फुर्वा लामा र चन्चली तामाङको माटोको ढिस्कोले पुरिएर मृत्यु भएपछि उनीहरूको शव पोस्टमार्टमका लागि हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
बिहीबार आफन्तहरूले पीडितलाई जीवन धान्न्न पुग्ने गरी रकम प्राप्त हुनुपर्ने साथै जिविस भक्तपुरको स्वीकृतिबेगर ऐलानीपर्ती जग्गामा सञ्चालित बालुवा खानीका सञ्चालक जीवन मटल र ठेकेदार सरोज थापालगायतलाई कानुनी कारबाही हुनुपर्ने माग राखेका थिए।
महानगरीय प्रहरी वृत्त ठिमीमा भेला भएका मृतकका आफन्त र माओवादी र्समर्थक मजदुर संगठन अखिल नेपाल निर्माण मजदुर युनियनका कार्यकर्ताले १० लाख रूपियाँ प्रतिव्यक्ति क्षतिपूर्ति पाउनु पर्ने भन्दै बिहीबार दिउँसो पुरानो ठिमी क्षेत्रको यातायातसमेत केहीबेर ठप्प पारेका थिए।
पीडित पक्षले विरोध गरिरहेका बेला प्रहरी वृत्त ठिमीले भने सम्पर्कबाहिर गएका खानी सञ्चालक मटल र सरोज थापाको खोजी भइरहेको र खानी ठेकेदारमध्ये इश्वर थापा सम्पर्कमा रहे पनि प्रतिपरिवार २ लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने खानीसम्बद्ध व्यक्तिले बताएको उल्लेख गरेको छ।
प्रहरी निरीक्षक प्रकाश रानाभाटका अनुसार पीडित पक्षको मागदाबीअनुसारको क्षतिपूर्ति दिलाउनेबारे जिल्ला प्रशासन कार्यालयमा वार्ता गर्ने सहमति भएपछि मृतकका आफन्तले सडकमा रहेको अवरोध बिहीबार आपराहन हटाएका थिए। तर बालुवाखानीका ठेकेदार सरोज थापाका सहयोगी अनिल थापाले भने मृतकका आफन्तलाई २ लाख रूपियाँ प्रतिव्यक्ति दिने भने पनि बिहीबार १० लाख रूपियाँ माग भएकाले माग पूरा गर्न समस्या भएको बताएका छन्।