राष्ट्रपतिलाई श्रीलङ्का भ्रमणको निम्तो

काठमाडौं, कात्तिक १३

राष्ट्रपति रामवरण यादवलाई श्रीलङकाका राष्ट्रपति महिन्दा राजापाक्षेले श्रीलङ्का भ्रमणको निम्तो दिएका छन्। शुक्रबार भएको भेटमा राजापाक्षेले उपयुक्त समय मिलाएर श्रीलङ्का भ्रमणमा आउन राष्ट्रपति यादवलाई निमन्त्रणा दिएको राष्ट्रपतिको प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।

राष्ट्रपति यादवलाई भारतसहित विभिन्न देशबाट निमन्त्रणा आए पनि उनी अहिलेसम्म विदेश भ्रमणमा गएका छैनन्।

यसअगाडि राजापाक्षे शुक्रबार बुद्ध जन्मस्थल लुम्विनीको भ्रमण गरेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बिहान पौनेएघार लुम्विनी पुगेका राष्ट्रपति राजापाक्षेले मायादेवी मन्दिरमा पूजाअर्चना गर्दै विश्व शान्तिका लागि प्रार्थना गरे। राष्ट्रपति राजापक्षले श्रीलङका सरकारले यहा निर्माण गरेको वौद्ध विहारको उद्घाटन गरे।

राष्ट्रपति राजापाक्षले श्रीलङ्कन पर्यटकहरुका लागि निर्माण गरिएको श्रीलङकन पिलीग्रिम्स रेष्ट हाउसको समेत अवलोकन गरे। सो अवसरमा पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिंदै लुम्विनी भ्रमणमा आउने वाल्यकालदेखिनै इच्छा भएको र त्यो इच्छा अहिले पूरा भएको बताए।

उनले लुम्विनीको विकासको दायित्व नेपालको मात्र नभइ श्रीलङ्का लगायत विश्वको भएको बताए। अहिले वार्षिक ४० हजार श्रीलङकन लुम्विनीआएकोमा अव यो संख्या अझै बढ्ने बताए। उनले लुम्विनीको विकासका लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार अमेरिकी डलर प्रदान गरे। लुम्विनी विकासको गुरुयोजनाका वारेमा कोषका सुचना अधिकृत हरिध्वज राईले राष्ट्रपति राजपाक्षले जानाकारी गराएका थिए। राष्ट्रपति राजापाक्षेले सान्ति स्तुपमा दिप प्रज्वलन समेत गरे।

राष्ट्रपति राजापाक्षेको भ्रमणलाई लक्षित गरेर विहिवारदेखिनै लुम्विनीको सुरक्षा व्यवस्था कडा पारिएको थियो। विदेशी तथा स्वदेशी पर्यटकहरुका लागि लुम्विनी विकास कोषको क्षेत्रमा प्रवेशका लागि विहिवार विहानैदेखि निषेध गरिएको थियो। त्यसैगरी लुम्विनी विकास कोषको क्षेत्र भित्र रहेका हरेक गुम्वा, भवन र मन्दिरका साथै जंगल क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। राष्ट्रपतिको सुरक्षार्थ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीे परिचालन गरिएको थियो। राष्ट्रपति राजपाक्षे लुम्विनी पुग्दा संस्कृति तथा संविधानसभामन्त्री मिनेन्द्र रिजाल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी , लुम्विनी विकास कोषका पदाधिकारी लगायतले स्वागत गरेका थिए। राष्ट्रपति राजापाक्षे दिउसो सवा दुईबजे काठमाडौ प्रस्थान गरेका थिए।

पत्रकारलाई पास उपलब्ध भएन
राष्ट्रपति राजापाक्षेको भ्रमणको समाचार संकलन र तस्विर खिच्न लुम्विनी पुगेका पत्रकारहरु लुम्विनी विकास कोषको मूलद्धारबाट भित्र जान पाएनन्। पत्रकारलाई सिमित पासको व्यवस्था भएको र पास सकिएको भन्दै स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले पत्रकारलाई भित्र प्रवेश गर्न नदिएका हुन्।

प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको हस्ताक्षर भएको पास बोकेर ६ पत्रकार मात्रै भित्र जान पाएका थिए। अन्यलाई पास उपलब्ध गराउन नसकिने बताएर प्रजिअ झाले गेटबाट नै फर्कन बाध्य बनाएका थिए। पटक पटक सम्पर्क गर्दा पनि प्रजिअले प्रवेश पास नदिएर रिर्पोटिङ गर्न बञ्चित गरेको गोरखापत्रका संवाददाता लक्ष्मण पौडेलले नागरिकलाई बताए।

त्यसैगरी भित्र प्रवेश दिइएका पत्रकारलाई पनि राष्ट्रपतिले मायादेवी मन्दिरभित्र अवलोकन र पूजाअर्चना गरेको तस्वीर खिच्न र अवलोकन गर्न नदिएको फोटो पत्रकार रवि पन्तले बताए।

प्रमुख समाचर